आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेस (NHIS) सेवा प्रवाह सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेस (NHIS) बीच संस्थागत सहकार्यसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। उक्त सहकार्यले जीवन बीमा सेवा र स्वास्थ्य सेवाबीच समन्वय गरी सेवाग्राहीलाई थप सहज, गुणस्तरीय तथा सुलभ सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।

यस समझदारीपछि आईएमई लाइफका कर्मचारी, अभिकर्ता तथा बीमितहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेस (NHIS) मार्फत विभिन्न स्वास्थ्य सेवामा विशेष सुविधा प्राप्त गर्नेछन्। जस अन्तर्गत चिकित्सक तथा डेन्टल परामर्श निःशुल्क उपलब्ध हुनेछन् भने प्रयोगशाला परीक्षण, एक्स-रे, अल्ट्रासाउन्ड, ईसीजी लगायतका सेवामा अधिकतम ५० प्रतिशत छुट प्राप्त हुनेछ। साथै, फुल बडी चेकअप, फिजियोथेरापी तथा अन्य स्वास्थ्य प्याकेजहरूमा समेत आकर्षक अफर उपलब्ध हुनेछ। यी विशेष सुविधा प्राप्त गर्नका लागि आईएमई लाइफका कर्मचारी र अभिकर्ताले सम्बन्धित परिचयपत्र देखाउनु पर्नेछ।

यसका अतिरिक्त, आईएमई प्रिभिलेज कार्ड भएका ग्राहकहरूलाई प्राथमिकतामा सेवा प्रदान गरिनेछ भने आवश्यकताअनुसार होम केयर सेवा, विशेष नर्सिङ केयर तथा स्वास्थ्य उपकरण व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। यसले बीमितहरूको स्वास्थ्य सुरक्षा थप मजबुत बनाउने विश्वास गरिएको छ।

यस सहकार्यले आईएमई लाइफका कर्मचारी तथा अभिकर्ताहरूको कार्यक्षमता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै बीमित ग्राहकहरूको समग्र जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। उक्त समझदारी पत्रमार्फत दुबै संस्थाले संयुक्त रूपमा स्वास्थ्य सचेतना कार्यक्रम, विशेष स्वास्थ्य शिविर तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने सहमति गरेका छन्।

समझदारीपत्रमा आईएमई लाइफका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री खिलेन्द्र पौडेल तथा (NHIS) का तर्फबाट संस्थापक अध्यक्ष डा. रूप नारायण शाहले हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यबाट दीर्घकालीन रूपमा दुबै संस्थाका सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।

आईएमई लाइफ इन्स्योरेन्स कं. लि.
हातवे कम्प्लेक्स, लैनचौर, काठमाडौं।